कैलालीको गोदावरीस्थित गौशालामा २५ गाई मरेको भेटियो
१९ पुस, कैलाली — कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा ठूलो सङ्ख्यामा गाई तथा बाच्छाबाच्छी मरेको भेटिएपछि स्थानीयले तत्काल व्यवस्थापन र छानबिनको माग गरेका छन्।
स्थानीयका अनुसार उक्त गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मृत अवस्थामा फेला परेका हुन्। स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउनु र चिसोका कारण कठ्याङ्ग्रिएर गाई मरेको अनुमान व्यक्त गरे।
उनका अनुसार गौशालामा रहेका गाईलाई समयमै घाँस, दाना र उचित हेरचाह नदिइएको अवस्था छ। “सयभन्दा बढी गाई रहेको गौशालामा एक जना मात्र हेरालु छन्। हेरचाहको अभावकै कारण यस्तो दुःखद अवस्था आएको हो,” पाण्डेले भने, “अहिले पनि दैनिक चारदेखि पाँच वटा गाई मरिरहेको अवस्था छ। मरेका गाईको दुर्गन्धका कारण गौशालामा पुग्नसमेत गाह्रो भएको छ।”
पाण्डेले स्थानीय तह र सरोकारवाला निकायलाई गौशालाको तत्काल व्यवस्थापन गर्न आग्रह गरेका छन्।
यसैबीच, पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले घटनाको अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन्। उनले समस्याको पहिचान गरी तत्काल सुधारात्मक कदम चाल्न आवश्यक रहेको बताएका छन्।