स्याङ्जामा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते
स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलालीको टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार दिउँसो करिब २ बजे वालिङबाट डुंगाल लिएर चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा घाइते हुनेमा ट्याक्टर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का २८ वर्षीय लालबहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३१ वर्षीय लक्ष्मण चौधरी र डडेलधुरा अमरगढी नगरपालिका–५ का ३५ वर्षीय हुकुमबहादुर दलामी रहेका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। थप उपचारका लागि उनीहरूलाई पोखरा रिफर गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।