रुस–युक्रेन युद्धमा संलग्न बैतडीका मनोजसिंह भाटको मृत्यु पुष्टि
बैतडी — रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।
करिब दुई वर्षअघि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन थिए। ‘डिएनए’ परीक्षणमार्फत उनको मृत्यु भएको पुष्टि भएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले जानकारी दिए।
भाटको मृत्यु कहिले र कसरी भएको भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै उनको मृत्यु भएको खबर परिवारलाई दिइएको वडाअध्यक्ष भट्टले बताए।
मृतक भाटका आमा–बुबा, भाइ र श्रीमती छन्। भाटसँगै रुसी सेनामा भर्ती भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो। सोही समयदेखि मनोजसिंह भाटको खोजी भइरहेको थियो।