अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि चैत १५ सम्म आवेदन आह्वान
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसम्बन्धी दिग्दर्शनमा उल्लेख भएबमोजिम आवेदन पेस गर्नुपर्नेछ। अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन र आवेदन फाराम मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बास्कोटाका अनुसार सूचीकरण गर्न इच्छुक व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका आवश्यक कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिनुपर्नेछ। उनले चैत १५ गतेभित्र आवेदन पेस गरिसक्न आग्रह गरे।
आवेदनका साथ कार्यविधिको अनुसूची–१ बमोजिमको ढाँचामा सम्पदाको विस्तृत विवरण, सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदासम्बन्धी तस्बिर तथा श्रव्य–दृश्य सामग्री, हालसम्मको पुस्तान्तरणसम्बन्धी विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस तथा स्थानीय तहमा सूचीकरण भइसकेको भए सोको प्रमाण संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयले गत वर्ष जारी गरेको सूचनाअनुसार ललितपुरको मौलिक खाद्य परिकार योमरीलाई अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरिएको थियो।