नेपाली कांग्रेस महाधिवेशनको मितिमा विवाद, दुई महामन्त्रीसहित पाँच नेताको फरक मत
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित पाँच नेताले फरक मत राखेका छन्।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नयाँ कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित भए पनि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत पाँच नेताले असहमति जनाएका हुन्।
उक्त बैठकले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल २०८३ जेठसम्म लम्ब्याउने प्रस्ताव पनि पारित गरेको छ। यही निर्णयप्रति असन्तुष्टि जनाउँदै महामन्त्री थापाले आफूहरूसहित पाँच नेताले फरक मत दर्ता गराएको जानकारी दिए।
थापाका अनुसार कांग्रेस विधानको धारा ४३ ले पार्टीको कार्यकाल चार वर्ष तोकेको छ र विशेष परिस्थितिमा बढीमा एक वर्ष मात्रै थप गर्न सकिने व्यवस्था छ। तर हालको निर्णय उक्त धाराको मर्मविपरीत भएको उनको तर्क छ।
‘केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरे पनि हामीले विधानअनुसार फरक मत राखेका छौँ,’ थापाले भने।
उनले कांग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको पनि स्मरण गराए।
महाधिवेशनको मिति र कार्यकाल लम्ब्याउने निर्णयसँगै नेपाली कांग्रेसभित्र नयाँ विवाद सुरु भएको छ।