निर्वाचनअघि प्रशासनद्वारा इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह
७ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालयहरूले व्यक्तिसँग दर्ता भएका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेका छन्।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार, व्यक्तिका नाममा दर्ता भएका इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ। उक्त हातहतियार र प्रयोग हुने गोली जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी तथा स्थानीय प्रशासन कार्यालयमा बुझाउन सकिने छ।
त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि माघ १५ गतेभित्र सबै हातहतियार बुझाउन सूचना जारी गरेको छ। यसमा सम्बन्धित सबै नागरिकलाई प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको छ।
लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि यही माघ २० गतेभित्र नागरिकहरूले आफ्ना इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। लमजुङमा करिब एक हजार व्यक्तिसँग ती हातहतियार रहेका छन्।
स्थानीय प्रशासनका अनुसार व्यक्तिगत सुरक्षा र अन्य प्रयोजनका लागि राखिएका इजाजतप्राप्त हातहतियार नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। चुनाव सम्पन्न भएपछि बुझाइएका हातहतियार फिर्ता लिन सकिने जनाइएको छ।