भैरहवामा बुद्ध एयर उडान ढिला, यात्रुले आपतकालीन ढोका अनाधिकृत रूपमा खोले
काठमाडौं, ३० पुस । बुधबार भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) ढिला भएको छ। यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएको हो।
उक्त यात्रुलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरेको छ र परीक्षणपछि मात्र उडान जारी हुनेछ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार, विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। बुद्ध एयरले यस घटनाबाट यात्रुवर्गमा परेको असुविधाप्रति क्षमा मागेको छ।