बौद्धको प्राइड क्यासिनो लुटपाटमा एकजना थप पक्राउ
काठमाडौँ । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनोमा भदौ २४ मा भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भई गोकर्णेश्वर बस्ने ३० वर्षीय दोर्जे शेर्पा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उनलाई पुस १४ मा कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धान अनुसार, जेनजी प्रदर्शनको क्रममा भएको उक्त लुटपाटमा शेर्पा संलग्न रहेको पुष्टि भएको छ। यसअघि मंसिर १२ मा ‘सेठ्ठी’ भनेर चिनिने दावा शेर्पा र ‘रने’ भनेर चिनिने रन्जित खड्गीलाई पक्राउ गरिएको थियो। दुवैलाई गुण्डागर्दी पृष्ठभूमिका बताइएको छ।
प्राइड इन्टरटेनमेन्ट प्रालिको ‘क्यासिनो प्राइड’ मा सेठ्ठीले टेबल सञ्चालन गर्दै आएका थिए। लुटपाटमा लुटेराहरूले क्यासिनोबाट नगद १४ करोड रुपैयाँ लुटेको क्यासिनो सञ्चालकले दाबी गरेका छन्। साथै, अराजक जत्थाले क्यासिनो भित्रका संरचनाहरू तोडफोड र आगजनी गरेर फरार भएका थिए।