प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको संयुक्त बैठक बोलाइन्
काठमाडौं, ११ पुस । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूलाई बैठकमा सहभागी हुन निम्तो दिएकी हुन् । बैठक शनिबार बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिएका छन् । त्यस्तै, उनले मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर औपचारिक रूपमा निम्तो दिएका हुन् ।
मन्त्री खरेलले आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बैठकको निम्तो दिने कार्यक्रम रहेको छ ।