नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
काठमाडौं, १६ पुस– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ।
उद्घाटन समारोहमा बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारको रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरे। जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जसले नेपालका लागि दीर्घकालीन र महत्वपूर्ण बजारको संकेत गर्दछ।
कार्यक्रममा जोशीले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गर्ने रणनीति उल्लेख गरे। उनले आगामी २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने र उच्च मूल्य पर्यटनमा केन्द्रित हुने योजना प्रस्तुत गरे।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ थिए।
यस अवसरमा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमले भिडियो सन्देश प्रदान गरेका थिए। साथै बोर्डको वार्षिक प्रकाशन ‘इन-फोकस’ पनि विमोचन गरिएको छ।