नेपाल राष्ट्र बैंकद्वारा बाढी/पहिरो प्रभावित उद्यमीका लागि कर्जा राहत घोषणा
काठमाडौँ — नेपाल राष्ट्र बैंकले बाढी र पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने नीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।
समीक्षामा भनिएको छ, “हालैको बाढी/पहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ।”
यो कदमले विपद् प्रभावित क्षेत्रका व्यवसाय र उद्यमीहरूलाई तत्कालिक आर्थिक राहत प्रदान गर्ने र व्यवसाय सञ्चालनमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ।