सरकार सुशासन र निर्वाचनमा केन्द्रित : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी फागुन २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी तीव्र पारिएको जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार तयार रहेको उल्लेख गर्दै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताइन्। उनले संविधानसम्मत र लोकतान्त्रिक मार्गबाट मुलुक अघि बढाउने एकमात्र विकल्प निर्वाचन भएको स्पष्ट पारिन्।
समाजमा अराजकता सह्य नहुने बताउँदै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको जनाइन्। साथै, सुशासनयुक्त राष्ट्र निर्माणका लागि समुदायको भूमिकासमेत महत्वपूर्ण रहेको उल्लेख गरिन्।
कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले निर्वाचन सफल बनाउन जेन–जी समूहको सहयोग आवश्यक रहेको बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न व्यक्तित्वको योगदानले महानगरलाई आजको अवस्थामा पुर्याएको उल्लेख गरिन्। कार्यक्रममा महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गाला स्कुलसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।