चिप र आइ लेन्स प्रयोग गरी क्यासिनोमा ठगी, सात जना पक्राउ
९ पुस, काठमाडौं ।तासमा चिप जडान गर्ने तथा आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने र खेलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत पक्राउबारे जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार भारतबाट आएको एक गिरोहले क्यासिनो इभेन्ट आयोजना गर्ने बहानामा स्क्याम गरी ठगी गर्दै आएको पाइएको छ।
प्रहरीले तासमा चिप जडान गर्ने, विशेष प्रकारका आइ लेन्स प्रयोग गरेर खेलको नतिजा प्रभावित पार्ने जस्ता प्रविधिबाट ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।