वीरगञ्ज भन्सारको पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको पाँच महिनामा कार्यालयले ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा राजस्व सङ्कलन उत्साहजनक रहेको छ। मङ्सिर महिनामा २१ अर्ब ३३ करोडको लक्ष्य लिइएकोमा २० अर्ब ८० करोड रुपैयाँ अर्थात् ९८ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए।
चालु आवका पाँच महिनामध्ये सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन भएको हो। साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व उठाइएको छ।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई चालु आवमा कुल २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ। हालसम्म पाँच महिनामा वार्षिक लक्ष्यको उल्लेख्य हिस्सा राजस्व सङ्कलन भइसकेको जनाएको छ।