सुदूरपश्चिमका तीन जिल्लामा सवारी दुर्घटना : चार जनाको मृत्यु, पाँच घाइते
धनगढी — सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा एकै दिन भएका विभिन्न सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको हो। लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिल्लरमा ठोक्किँदा चालक २६ वर्षीय अनिष भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएका छन्।
यस्तै, कैलालीकै बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालक २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको छ। पछाडि सवार २४ वर्षीया रिता कठरिया घाइते भएकी छन् र उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय गुड्डु बि.कको मृत्यु भएको छ भने पछाडि सवार बिरराम पोखरेल घाइते भएका छन्। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डडेल्धुराको आलिताल गाउँपालिका–४ जालिटुडामा जिप र अटो एकआपसमा ठोक्किँदा अटोमा सवार २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ। सो दुर्घटनामा २१ वर्षीया सबिता थापा मगर घाइते भएकी छन्। जिप चालकलाई नियन्त्रणमा लिइएको छ भने अटो चालक फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।