सुनसरीमा अनेरास्ववियु अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त
सुनसरी, १६ पुस – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त भएका छन्।
सिग्देलले जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वको आलोचना गर्दै विद्यार्थी हत्या प्रकरणमा जिम्मेवारी लिनुपर्ने र आफ्नो राजीनामा दिनुपर्ने माग गरेका थिए। उनले यसअघि भनेका थिए, “विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो कुरा हो।”
सिग्देल अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए। उनका विरोधी गतिविधिका कारण सुनसरीको धरानमा विशेष भेला गरी शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ।
रेग्मी नेतृत्वको ५१ सदस्यीय नयाँ समितिमा उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी, सहसचिवमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ रहेका छन्। कोषाध्यक्षमा सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ तथा अर्जुन निरौला चयन भएका छन्।
सिग्देलले बर्खास्तीपछि अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन बनेको आरोप लगाउँदै व्यक्तिवादी चरित्रको विरोधमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।