जसपा नेपाल प्रदेशस्तरीय विरोध सभामा, २८ बुँदे माग उठाउने
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसमेत समेटिएको २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै प्रदेशस्तरीय विरोध सभा सञ्चालन गर्न लागेको छ।
पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, जसपा नेपालले शनिबारदेखि विरोध सभा सुरु गर्दै आज विराटनगरमा पहिलो सभा गर्ने कार्यक्रम बनाएको छ। त्यसपछि पुस १४ गते मधेस प्रदेशको जनकपुर, १५ गते वीरगञ्ज र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना हुने छ। विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरू सम्बोधन गर्नेछन्।
बस्नेतले भने कि जसपा नेपालले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ भने पार्टीका प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न भइसकेको छ।
यसअघि, पार्टीले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा कोण सभा, विरोध कार्यक्रम, शान्तिपूर्ण धर्ना र जिल्लास्तरीय जनसभा समेत आयोजना गर्दै आफ्ना माग र मुद्दा समेटिएको प्लेकार्ड र ब्यानरमार्फत आवाज उठाएको छ।