मुख्यमन्त्री बानियाको जोडः पर्यटन प्रवर्द्धनसँगै हात्ती संरक्षण आवश्यक
चितवन, सौराहा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
आज चितवनको सौराहामा आयोजित १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले हात्तीलाई मानवको साथीको रूपमा स्मरण गरे। विश्वभर घट्दो संख्यामा रहेका हात्तीको संरक्षण अब मानव समुदायको जिम्मेवारी भएको उल्लेख गर्दै प्रदेश सरकार यसप्रति प्रतिबद्ध रहेको उनले बताए।
उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई पनि सीप सिकाएको छ। पशुप्रति अन्याय नभई संरक्षणमै जोड दिइएको छ।” हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको उल्लेख गर्दै जमिन, जंगल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाले भविष्यमा हात्तीपालन तथा संरक्षणमा संलग्न व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिए। उनका अनुसार महोत्सवको आयोजनापछि पर्यटकको संख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ।
विसं २०५५ देखि सुरु भएको चितवन हात्ती महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको पनि उनले बताए।
सौराहाको बाघमारा चौरमा आजदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सञ्चालन भइरहेको छ। क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुँदै आएको महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन्।
महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्ती पूजालगायतका कार्यक्रम समावेश छन्। सरकारी र निजी क्षेत्रका गरी ८० वटा हात्ती महोत्सवमा सहभागी रहेका छन्।