एमाले महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरू सशक्त निर्वाचित
काठमाडौं, पुस ३ — २०७४ सालको निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७५ सालमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका थिए। तर २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदियो।
पार्टी विभाजनपछि माओवादी केन्द्रका केही प्रभावशाली नेताहरू एमालेमै बसेका थिए। रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी थारु, ज्वालाकुमारी साह, निरकुमारी कुँवर (निरु दर्लामी) लगायत नेताहरू एमालेमै सक्रिय रहे।
एमालेको एघारौँ महाधिवेशनमा भएको निर्वाचन परिणामअनुसार माओवादी पृष्ठभूमिका नेताहरूले उल्लेख्य मतसहित नेतृत्वमा स्थान सुरक्षित गरेका छन्। रामबहादुर थापा एक हजार ५१६ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलपछि थापाले तेस्रो बढी मत ल्याएका हुन्।
उपमहासचिव पदमा लेखराज भट्ट सर्वाधिक मतसहित विजयी भएका छन्। उनले एक हजार ४५२ मत प्राप्त गरेका थिए।
खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दिएका गौरीशंकर चौधरी थारु एक हजार ९१६ मतसहित निर्वाचित भए। उनी उक्त क्लस्टरबाट दोस्रो बढी मत ल्याएर केन्द्रीय सदस्य बनेका हुन्।
यस्तै, माओवादी पृष्ठभूमिकै लिलबहादुर थापामगर आदिवासी जनजाति खुला कोटाबाट १ हजार ३२० मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
बागमती प्रदेश महिला सदस्यतर्फ उम्मेदवारी दिएकी निरु दर्लामीले दुई हजार ५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भइन्। तीन सदस्य निर्वाचित हुने यस क्लस्टरमा उनले सबैभन्दा बढी मत ल्याएकी हुन्।
दलित महिला कोटाबाट रुक्मिणी राना बराइली १ हजार ७०५ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भइन्। समावेशी मधेशी महिला क्लस्टरतर्फ ज्वालाकुमारी साहले दुई हजार ४४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाएकी छन्।
यसैबीच, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व सचिव टोपबहादुर रायमाझी हाल निलम्बनमा रहेका छन्। एमालेको महाधिवेशन परिणामले पार्टीभित्र माओवादी पृष्ठभूमिका नेताहरूको प्रभाव कायमै रहेको देखाएको छ।