भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सरकार तयार : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई केवल चुनावी सरकारका रूपमा नभई सुशासन स्थापना गर्ने उद्देश्यले बनेको सरकार भएको स्पष्ट गरेकी छन्। भ्रष्टाचारविरुद्ध सरकार जुनसुकै तहसम्म कडा कदम चाल्न तयार रहेको बताउँदै उनले राज्यका संयन्त्रहरू सक्रिय रूपमा काममा लागेको उल्लेख गरिन्।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको जगमा बनेको सरकारले सुशासनका निम्ति तीव्र गतिमा काम गरिरहेको बताइन्। उनले धम्की–चेतावनीबाट नडराई भ्रष्टाचारविरुद्धको अभियानलाई अघि बढाइने भन्दै सम्बद्ध निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई पनि विचलित नभई आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गर्दै अघि बढ्न आग्रह गरिन्।