राप्रपाले पुस १२ मा बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने
काठमाडौँ, ११ पुस — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १२ गते झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ। निर्वाचनअघि नै राजा, राजनीतिक दल र जनताबीच नयाँ समझदारी आवश्यक रहेको विषय उठाउँदै आएको राप्रपाले उक्त सभालाई विशेष महत्वका साथ आयोजना गर्न लागेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार देशमा तीव्र रूपमा ध्रुवीकरण बढिरहेको छ र वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूबीच देखिन थालेको छ। यही सन्दर्भमा बिर्तामोडको सभा महत्वपूर्ण हुने उनको भनाइ छ।
आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले झापा जिल्लामा राप्रपाको संगठन तुलनात्मक रूपमा बलियो रहेको उल्लेख गर्दै सभामार्फत सबै राजनीतिक दल र सम्बन्धित पक्षलाई नयाँ समझदारीका लागि दबाब सिर्जना गर्ने तयारी गरिएको बताए।
बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अध्यक्ष लिङ्देनले राप्रपाको विचार सुन्न, पार्टीमा जोडिन तथा ‘देश बचाउने र देश बनाउने’ अभियानमा सहभागी हुन सर्वसाधारणलाई अपिल गरेका छन्।