सुर्खेतमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेत — वीरेन्द्रनगर नगरपालिका अन्तर्गत फोरलेन सडकको बाँगेसीमल खण्डमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीका अनुसार गाडीको ठक्करबाट घाइते भएका दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको हो।
मृतक बुढाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ। घटनाबारे थप विवरण अनुसन्धानको क्रममा रहेको र सवारी साधन पहिचानका लागि सीसीटीभी फुटेजसमेत जाँच भइरहेको मगराठीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धान अनुसार ठक्कर दिने सवारी साधन घटनापछि फरार रहेको छ। कुन प्रकारको सवारी साधन हो भन्ने खुल्न नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।