पुस २६–२८ मा कांग्रेसको विशेष महाधिवेशन आह्वान हुने, महामन्त्रीद्वयको तयारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले तोकेको तालिकाअनुसार पुस २६–२८ मा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्।
२१ फागुनमा हुने निर्वाचनअघि संस्थापन पक्ष कुनै पनि महाधिवेशनको पक्षमा नदेखिएपछि विधानअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको महामन्त्री पक्षको भनाइ छ। पार्टी विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको लिखित माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
यसै प्रावधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २८ गते विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता गराएका थिए। विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलका अनुसार नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीहरूले पुस २६–२८ मै विशेष महाधिवेशन आह्वान गर्नेछन्।
संस्थापन पक्षले भने महामन्त्रीहरूले बोलाएको कार्यक्रम औपचारिक महाधिवेशन नभई भेला मात्रै हुने दाबी गरेको छ। सहमहामन्त्री महेन्द्र यादवले चुनावी समयमा कार्यकर्ता व्यस्त भएकाले विशेष महाधिवेशनबारे आफू अनभिज्ञ रहेको बताए।
क्रियाशील सदस्यताको वितरण, नवीकरण र छानबिन प्रक्रिया नसकिँदा तोकिएको कार्यतालिकाअनुसार अधिवेशन हुन नसकेको हो। यसअघि वडा र क्षेत्र अधिवेशन नगरी सिधै केन्द्रको अधिवेशन गर्न महामन्त्रीद्वयले प्रस्ताव गरेका थिए, तर संस्थापन पक्ष तयार नभएपछि विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको तर्क छ।
महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नु विधानतः बाध्यकारी मात्र नभई पार्टी एकता र आत्मविश्वासका लागि आवश्यक भएको बताएका छन्। उता कांग्रेस नेता शेखर कोइरालाले भने केन्द्रीय कार्यसमितिले नै निर्णय गरेर विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा राख्दै बाहिरबाट बोलाइने भेलाले पार्टी विभाजनको जोखिम बढाउने चेतावनी दिएका छन्।
यसैबीच महाधिवेशनमार्फत नेतृत्व र नीति परिवर्तन नभएमा महामन्त्रीद्वय थापा र शर्मासहित विशेष महाधिवेशनको मागमा हस्ताक्षर गर्ने धेरै नेताहरू चुनाव नलड्ने मनस्थितिमा पुगेका छन्। शर्माले चुनाव नलड्ने निर्णय पार्टी बैठकमै सार्वजनिक गरिसकेका छन् भने थापाले भने परिवर्तन भएमा काठमाडौं–४ बाट चुनाव लड्ने बताएका छन्।