रिटर्नी संगठनबाट समानुपातिकतर्फ चार उम्मेदवार सिफारिस
काठमाडौँ, ११ पुस — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपाल र नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) बाट समानुपातिक तर्फ चार जना उम्मेदवार सिफारिस भएका छन्।
पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलरअनुसार दुवै संगठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो। सिफारिस हुनेमा रिटर्नी सेन्टर नेपालका तर्फबाट देवेन्द्र सम्बाहाम्फे र चेतना श्रेङ रहेका छन् भने नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) बाट प्रविन पौडेल र अनिता कुमारी रहेका छन्।
संगठनको केन्द्रीय कमिटी पूर्ण रूपमा गठन भइनसकेकाले दुवै संस्थाका फ्र्याक्सन इन्चार्ज र अध्यक्षहरूले बिहीबार सर्वसम्मत रूपमा नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ।
दुवै संगठनले पार्टीको निर्देशन र मापदण्ड पूरा गरी शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस पत्र बुझाएको बताएका छन्।
नाम, झन्डा र विधानलगायतका विषयमा सहमति भइसके पनि पार्टी नेतृत्वको व्यस्तताका कारण संगठनको औपचारिक समायोजन प्रक्रिया रोकिएको बताइएको छ।
नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) का अध्यक्ष प्रविन पौडेलका अनुसार विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जालाई पार्टीको आवश्यकताअनुसार उपयोग गर्ने उद्देश्यले उम्मेदवार सिफारिस गरिएको हो।