१०३ वर्षीया वृद्धाको मस्तिष्क शल्यक्रिया सफल, वीर अस्पतालको ऐतिहासिक उपलब्धि
काठमाडौं, १५ पुस — वीर अस्पतालले १०३ वर्षीया वृद्धाको मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया गरी चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अत्यन्तै उच्च उमेरका बिरामीमा गरिएको यो न्युरोसर्जिकल शल्यक्रिया विश्वमै दुर्लभ मानिन्छ।
वीर अस्पतालका न्युरो विभाग प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार, अत्यधिक नाजुक अवस्था र उच्च उमेर हुँदाहुँदै पनि सफल शल्यक्रिया हुनु चिकित्सकीय दृष्टिले अत्यन्त महत्वपूर्ण उपलब्धि हो।
काठमाडौं कोटेश्वर निवासी ती वृद्धालाई एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएको थियो। परिवारका सदस्यहरूले सुरुमा यसलाई उमेरजन्य सामान्य कमजोरी ठानेका थिए। तर दुई दिनसम्म लगातार बेहोस भएपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो, जहाँबाट थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको थियो।
अस्पतालका अनुसार, इमरजेन्सीमा ल्याउँदा बिरामी अचेत अवस्थामा थिइन्। विस्तृत जाँचपछि उनको मस्तिष्कमा ठूलो सबड्युरल हेमरेज (Subdural Hemorrhage) भएको पुष्टि भयो, जसका लागि तत्काल न्युरोसर्जिकल शल्यक्रिया आवश्यक थियो।
१०३ वर्षको उमेरमा यस्तो शल्यक्रिया चिकित्सकीय रूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ। बिरामीको स्वास्थ्य अवस्था, मस्तिष्कको नाजुक संरचना र पोस्ट–अपरेटिभ जटिलताको उच्च जोखिमका कारण परिवारले समेत सुरुमा बाँच्ने आशा लगभग गुमाइसकेको थियो।
यद्यपि, वीर अस्पतालको न्युरोसर्जरी विभागले गहिरो विभागीय छलफल, विशेषज्ञ परामर्श तथा परिवारसँग विस्तृत संवादपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय लिएको थियो।
डा. राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली तथा नर्स सिन्धु गौतमसहितको टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो।
शल्यक्रियापछि बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। हाल उनी पूर्ण होसमा छिन्, बोल्न सक्ने भएकी छिन् र आफैं खाना खान थालेकी छिन्। डा. झाका अनुसार, उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले छिट्टै डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
डा. झाले भने, “यति उच्च उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो। तर सही मूल्यांकन, टोलीगत निर्णय र परिवारको सहमतिले हामीले शल्यक्रिया गर्यौँ, र परिणाम सफल भयो।”
उनका अनुसार, १०० वर्षभन्दा माथिका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया अन्तर्राष्ट्रिय स्तरमै अत्यन्त दुर्लभ छ, र यस्ता केही मात्र केसहरू विश्वभर रिपोर्ट भएका छन्।
चिकित्सा क्षेत्रका जानकारहरू भन्छन्, १०० वर्षभन्दा माथिका बिरामीमा सबड्युरल हेमेटोमाजस्तो जटिल अवस्थाको शल्यक्रिया उच्च जोखिमयुक्त हुने भएकाले अधिकांश अवस्थामा शल्यक्रिया नै गरिँदैन।
डा. झाले थपे, “यो उपलब्धिले वीर अस्पतालको न्युरोसर्जरी विभाग मात्र होइन, समग्र नेपाली चिकित्सा क्षेत्रको क्षमता, समर्पण र दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको छ।”