पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी, आज साढे २ बजे शपथ
काठमाडौं, ११ मंसिर, पुस । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज साढे २ बजे शपथ गराइने तयारी भइरहेको छ।
हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले परराष्ट्र मन्त्रालय सम्हाल्दै आएकी थिइन्। केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन्, र शर्माले सकारात्मक जवाफ दिएका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनका विज्ञता र अनुभवलाई ख्याल गर्दै उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री कार्कीले अब रक्षा र खानेपानी मन्त्रालय आफैंसँग राखेकी छन्। आजको मन्त्रिपरिषद् विस्तार पाँचौंपटक भएको हो।
पूर्वरथी शर्मा नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रूपमा परिचित छन्। उनले सेना समायोजन विशेष समिति सचिवालयको संयोजक भएर राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकुलाई घटाएर १५ सयभन्दा कमलाई मात्र समायोजनमा ल्याउने र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम उपलब्ध गराएर घर फर्काउने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए।
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।