बन्दसूचीबारे प्राप्त सुझावप्रति रास्वपाको ध्यानाकर्षण
काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबारे विभिन्न प्रतिक्रिया आइरहेको र ती विषयमा पार्टी गम्भीर रहेको उल्लेख गरेको हो।
विज्ञप्तिमा समय अभावका बीच अन्तिम समयमा आवश्यक राजनीतिक संवाद र सहमति गर्नुपर्ने अवस्थाका कारण बन्दसूची तयार गर्ने प्रक्रियामा केही कमीकमजोरी देखिन सक्ने स्वीकार गरिएको छ। यस्ता त्रुटिहरू सच्याउन निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमाको पूर्ण सदुपयोग गरिने पार्टीले जनाएको छ।
रास्वपाले बन्दसूचीमा देखिएका त्रुटि वा सुधार गर्नुपर्ने विषय आयोगले तोकेको समयभित्र सच्याएर पुनः पेश गरिने स्पष्ट पारेको छ।
यस प्रयोजनका लागि पार्टीले पुस १७ गते बिहान १० बजेसम्म यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन आग्रह गरेको छ।