कांग्रेस नेता प्रदीप पौडेलले १५औँ महाधिवेशनमा महामन्त्री पदमै लड्ने घोषणा
काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनुपर्ने बताए।
सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता पौडेलले जेन–जी आन्दोलनको भावनाअनुसार पार्टीको नीति र नेतृत्वलाई चलायमान बनाउँदै निर्वाचनमा होमिनु आवश्यक रहेको धारणा राखे। उनले आमनिर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेन–जी आन्दोलनको भावना र चाहना भएको पौडेलको भनाइ थियो। उनले कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारे।
नेता पौडेलले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक वातावरण मिलाउनुपर्ने माग गरे।
‘महाधिवेशनको तालिका अलि व्यावहारिक नभएको हुन सक्छ, केही तलमाथि होला, तर आमनिर्वाचनअघि महाधिवेशन सम्पन्न गर्नैपर्छ,’ उनले भने।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित सबै नेताहरूलाई महाधिवेशन समयमै सम्पन्न गर्न स्पष्ट निर्देशन दिइसकेको पनि पौडेलले बताए। देउवा चाँडै नेतृत्व हस्तान्तरण गर्न इच्छुक रहेको उनको दाबी छ।
कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दा आफू सफल हुन नसकेको स्मरण गर्दै पौडेलले १५औँ महाधिवेशनमा पनि सोही पदमा पुनः प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।