सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटायो
काठमाडौं, २९ मंसिर
सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ। अब नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म २ सय र ५ सय दरका नोट नेपाल–भारत ओहोरदोहोर गर्न पाउने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि भारतमा प्रचलनमा रहेका (निष्कासित) २ सय र ५ सय दरका भारतीय नोट मात्र नेपालमा चलनचल्तीमा ल्याउन पाइने व्यवस्था गरिएको छ।
“नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,” मन्त्री खरेलले बताए।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारतीय नोट नेपाल–भारत ओहोरदोहोर गर्न पाउने व्यवस्था गरेपछि नेपाल सरकारले पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै प्रतिबन्ध हटाएको हो।
आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै २ सय र ५ सय दरका नोट पनि नेपाल र भारतबीच ल्याउन तथा लैजान पाउने व्यवस्था गरेको थियो।
भारतले सन् २०१६ मा ५ सय र १ हजार दरका नोटको नोटबन्दी गरेपछि नेपालमा पनि ठूला दरका भारतीय नोट ल्याउन–लैजान प्रतिबन्ध लगाइएको थियो। त्यसपछि भारतले नेपालमा रहेका ठूला दरका भारतीय नोट सटही नगरेपछि नेपाल सरकारले पनि १ सयभन्दा बढी दरका भारतीय नोटको चलनचल्तीमा रोक लगाएको थियो।
खुला सीमा र भारतसँगको व्यापारिक निर्भरतालाई मध्यनजर गर्दै दुवै देशले पुनः ठूला दरका नोट ओहोरदोहोरको व्यवस्था गरेसँगै नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको हो।
सन् २०१६ को नोटबन्दीका क्रममा नेपालमा रहेका ठूला दरका भारतीय नोट अझै सटही हुन बाँकी रहेको छ। त्यस समयमा बैंकिङ प्रणालीमा मात्रै करिब ५ करोड भारतीय रुपैयाँ बराबरका नोट रहेको बताइन्छ, ती नोटहरू हालसम्म पनि सटही हुन सकेका छैनन्।