एमाले महाधिवेशनको मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित
काठमाडौं, १ पुस — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज सुरु हुने भनिएको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ।
केहीबेरमै मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले प्रक्रिया अघि बढ्न नसकेपछि मतदान स्थगित गरिएको हो। महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेदेखि मतदान गरिने जानकारी दिए।
‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारण पनि प्रतिनिधिहरू लामो समयसम्म प्रतिक्षा गर्न सक्ने अवस्था छैन। त्यसैले आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यही स्थानमा गरिनेछ।’
एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचन भोलि बिहानबाट पुनः सुरु हुने जनाइएको छ।