मधेसका स्थानीय तहलाई कर्मचारी अभिलेख अद्यावधिक गर्न एक महिनाको समय
जनकपुरधाम
मधेस प्रदेश सरकारले प्रदेशअन्तर्गतका सबै स्थानीय तहलाई स्थायी कर्मचारीसम्बन्धी अभिलेख एक महिनाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा स्थानीय तहलाई पद तथा सिटरोल दर्ता, कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो।
कार्यालयका उपसचिव रोहितकुमार कोइरालाका अनुसार हालसम्म प्रदेशभित्रका स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा प्राप्त नभएकाले अभिलेख व्यवस्थापनमा समस्या देखिएको छ। यही कारण अभिलेख प्रणाली व्यवस्थित गर्न स्थानीय तहलाई समयसीमा तोकिएको उनले बताए।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ अनुसार सङ्गठन संरचना, पद दर्ता तथा कर्मचारी अभिलेख राख्ने जिम्मेवारी प्रदेश किताबखानाको भए पनि आवश्यक विवरण नआएकाले कार्यान्वयन प्रभावित भएको कार्यालयले जनाएको छ।
निर्देशनअनुसार सबै स्थानीय तहले स्वीकृत सङ्गठन संरचना र दरबन्दी विवरणसहित हाल कार्यरत स्थायी कर्मचारी (साविक सङ्घ, स्थानीय सेवा तथा अन्य सेवासमेत) का छुट्टाछुट्टै व्यक्तिगत फाइल तयार गरी एक महिनाभित्र प्रदेश किताबखानामा बुझाउनुपर्नेछ।