काठमाडौंमा बिक्री गरिएको रायो सागमा उच्च मात्रामा भेटियो विषादी
८ पुस, काठमाडौं — काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको जानकारी अनुसार बिक्रीका लागि ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी रहेको पाइएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलबाट १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षण क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भएको पाइएको छ। विषादीको मात्रा धेरै भएको कारण उक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको जनाइएको छ।
सरकारको मापदण्ड अनुसार अर्गानोफस्फेटको प्रतिशत ३५ भन्दा कम हुँदा मात्र तरकारी उपभोगयोग्य मानिन्छ। ३५–४५ प्रतिशत भए केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ भने ४५ प्रतिशतभन्दा बढी भए त्यसलाई उपभोगका लागि अयोग्य मानिन्छ।
यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायत तरकारीमा अत्यधिक विषादी भेटिएको थियो। विशेषज्ञहरूले उपभोक्तालाई यस्ता तरकारीको उपभोग गर्दा स्वास्थ्य जोखिम बढ्ने चेतावनी दिएका छन्।
कालीमाटी बजार विकास समितिले अत्यधिक विषादी भएका तरकारीको बिक्री रोक्न र उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।