देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
काठमाडौँ — देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो यथावत् रहनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
मौसमको अवस्थाका कारण विशेषगरी बिहान र बेलुकाको समयमा यातायात तथा हवाई उडानमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।