महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस, क्षेत्रीय भेलाद्वारा उम्मेदवार तय
जनकपुरधाम — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस गरिएको छ।
महोत्तरी–४ को क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा दुई जनाको नाम सिफारिस गरेको हो। क्षेत्रीय समितिका अनुसार पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ।
यस्तै, समानुपातिकतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभातर्फ भने राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।
क्षेत्रीय भेलाबाट सिफारिस भएका नामहरू पार्टीको केन्द्रिय तहमा पठाइने र अन्तिम निर्णय पार्टी नेतृत्वबाट हुने जनाइएको छ।