ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् । आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए ।