निर्वाचन सुशासनको आधार हो : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको अपरिहार्य अभ्यास भएको र यसले सरकारलाई वैधानिकता प्रदान गर्ने बताएका छन्। बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा उनले निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने स्पष्ट पारे।
मन्त्री अर्यालले आवधिक निर्वाचनबाट प्राप्त ताजा जनादेशले सरकारलाई सुशासन कायम गर्न सशक्त बनाउने उल्लेख गर्दै जेन–जी जनआन्दोलनले युवालाई राजनीतिमा मूलधारमा ल्याएको बताए। अब युवालाई बेवास्ता गरेर अघि बढ्न नसकिने उनको भनाइ थियो।
सुशासन दिन नसक्दा अस्थिरता र विद्रोहको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिँदै उनले नयाँ पुस्ताका जायज माग समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए। साथै, केही राजनीतिक दलले युवालाई नेतृत्व तहमा अघि सारेकोमा सरकार खुसी रहेको पनि उनले बताए।