गुल्मीको पश्चिमी क्षेत्रमा चार वटा पक्की पुल निर्माणपछि नागरिकलाई सहजता
गुल्मी – लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिमी क्षेत्रमा चार वटा पक्की पुल निर्माण भएपछि स्थानीय नागरिकको यात्रा सहज भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत छल्दीदेखि फूलबारीसम्म चारवटा खोलामा पक्की पुल निर्माण भएका हुन्।
फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला पुल निर्माण भएपछि हजारौँ मानिस र सयौँ सवारीसाधनले जोखिमपूर्ण खोला पार गर्ने बाध्यता हटेको छ।
निर्माण लागत अनुसार फूलबारी खोला पुल रु ३ करोड ३२ लाख, घमिर खोला पुल ३ करोड १३ लाख, हुलाके खोला पुल ५ करोड ७९ लाख र धनार्जी खोला पुल ७ करोड ४८ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले जानकारी दिए।
स्थानीयहरूले पुल नहुँदा वर्षाको समयमा खोला पार गर्दा सवारीसाधन अड्किने वा बग्ने समस्या भोग्नु परेको बताउँछन्। पुल निर्माण भएपछि स्थानीय तथा छिमेकी जिल्लाहरू—बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत यात्रा सहज भएको छ।
स्थानीय पूर्ववडाध्यक्ष शोभाखर गिरीले भने, “कालोपत्र सडकसँगै पक्की पुल निर्माण भएपछि यस क्षेत्रमा विकासका नयाँ आयाम थपिएको छ। व्यापारिक गतिविधि र यात्रु आवागमन दुवै बढ्ने भएको छ।”
तम्घास–सिमलटारी सडकखण्डमा पुल निर्माणपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारीलगायत क्षेत्रका नागरिकले प्रत्यक्ष फाइदा पाउन थालेका छन्।