पाँच दशकपछि म्याग्दीको मच्छिम तामाखानी उत्खननको अध्ययन सुरु
पाँच दशकदेखि बन्द रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमको तामाखानी उत्खननका लागि पुनः अध्ययन सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागको अनुमति लिएर एमएस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा सम्भाव्यता अध्ययन थालेको हो।
वडाध्यक्ष अशोक खत्रीका अनुसार भूगर्भविद्हरूको टोलीले खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययन गरिरहेको छ र पहुँचमार्गसमेत निर्माण गरिएको छ। अध्ययनपछि अर्को चरणमा उत्खनन प्रक्रिया अघि बढाइने जनाइएको छ।
स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालका अनुसार मच्छिममा २०२८ सालसम्म स्थानीय प्रविधिबाट तामा निकालिन्थ्यो, तर प्रविधिको अभाव र आर्थिक कारणले खानी बन्द भएको थियो। छन्त्याल समुदायको पुर्ख्यौली पेशासँग जोडिएको यस खानीमा अझै सुरुङ र तामाका धाउहरू देख्न सकिन्छ।
स्थानीयवासीले वातावरणीय जोखिम न्यूनीकरण र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा प्रमुख खनिजका रूपमा पाइन्छ।