सडक ठेक्का किर्ते प्रकरण प्रशासकीय अधिकृतसहित तीनमाथि मुद्दा
काठमाडौं ।पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्मको सडक कालोपत्रे गर्ने ठेक्कामा कमिसनको चलखेल गरी सार्वजनिक सूचना लुकाएको पुष्टि भएपछि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो।
अख्तियारको अनुसन्धानअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक सञ्जय कुमार साहले आपसी मिलेमतोमा बोलपत्रको सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया अघि बढाएका थिए। सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय वा स्थानीय पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने भए पनि उनीहरूले केवल ‘सेटिङ’का लागि पत्रिकाको एउटा प्रति मात्र छापी सर्वसाधारण तथा अन्य व्यवसायीलाई जानकारी नदिएको पाइएको छ।
प्रेस काउन्सिल नेपालको अभिलेखमा सो मितिको पत्रिकामा कुनै सूचना नदेखिएपछि विज्ञापनसम्बन्धी किर्ते गरिएको तथ्य खुलेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।
सूचना नै प्रकाशन नगरी विज्ञापन छापिएको भन्दै नगरपालिकाबाट ६५ हजार रुपैयाँ भुक्तानी लिइएको, झुट्टा बिल भरपाई बनाई सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याइएको तथा गैरकानुनी लाभ लिने बदनियत देखिएको अख्तियारको दाबी छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूर गरेको ठहर गर्दै अख्तियारले मुस्तफा, साह र प्रकाशक सञ्जय कुमार साहविरुद्ध सजाय र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।