नवलपरासीको दाउन्ने सडक खण्ड अवरुद्ध, यात्रु र सवारी साधन अलपत्र
नवलपरासी, १६ पुस – गत सोमबारदेखि नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारीसाधन सञ्चालन अझै सहज हुन सकेको छैन।
शीतलहरका कारण सडक चिप्लो भएको र उकालो–ओरालोमा सवारीसाधन सञ्चालन कठिन भएकोले यात्रुहरू मर्कामा परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, “अहिलेको समस्या दाउन्नेको पश्चिम खण्डमा सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसकेर सडक अवरुद्ध भएको हो। विस्तारै सवारी पास गराउने काम भइरहेको छ, तर तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको छ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले पनि सडक चिप्लो र बाक्लो हुस्सुका कारण सवारी सञ्चालनमा अत्यधिक कठिनाइ रहेको जानकारी दिए। “अहिले दुम्कीवास बजारदेखि नै सवारी जाम कायम रहेको छ,” उनले भने।
नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा सवारी चाप अधिक रहेको बताए। “हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको छ। अवस्था सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकिएको छ,” उनले भने।
तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु अलपत्र परेका छन्। आयोजनाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
दाउन्ने खण्डमा सडक निर्माण र मर्मतको कामसहित शीतलहरको प्रभावले सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखा परेको सडक योजनाले जनाएको छ।