प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक
काठमाडौं
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन्।
प्रकाशित अन्तिम नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त नामावली आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको जानकारी दिए।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। साथै, मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई समेत समेटेर नामावली अद्यावधिक गरिएको प्रवक्ता भट्टराईले बताए।
यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।