२५ वर्षपछि खुल्यो काठमाडौंको प्राचीन सुन्धाराको पानी निकास
काठमाडौं – काठमाडौं महानगरपालिकाले करिब २५ वर्षदेखि बन्द रहेको प्राचीन सुन्धाराको पानी निकास पुनः खोलेको छ।
वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतका अनुसार, पाशुपत क्षेत्रको जयवागेश्वरी मन्दिरसँगै रहेको यो लिच्छवीकालीन ढुङ्गेधाराको निकास खोल्न ६ र ९ पुसमा रातभर प्रयास गरिएको थियो। १० पुसको बिहान पाइप राखेर निकास खोल्न सफल भएको जानकारी दिइएको छ।
सङ्गतले भने, “सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर निकास करिब २५ वर्षअघि बन्द भएको थियो। यसपटक करिब ६० मिटर लम्बाइ र ९–१२ फिट गहिराइको पहिचान गरेर नियमित काम गरेपछि निकास खोल्न सकियो।”
उनले थपे, “यो केवल पानीको धारो मात्र होइन, नेवार सभ्यताको पहिचान र प्राचीन इन्जिनियरिङको जीवन्त उदाहरण हो। यसलाई पुनःस्थापित गराउँदै नागरिक र धार्मिक प्रयोजनमा प्रयोग गरिनेछ।”
जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार, “यो धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले नुहाउने विश्वास छ। अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानमा शुद्ध जल प्रयोग हुनेछ।”
स्थानीय मुकुन्दराज वैद्यले भने, “लिच्छवीकालीन राजा नरेन्द्र देवले जनताको कल्याणको लागि जयवागेश्वरी माताको आह्वान गरे र शिलानदीबाट पानी ल्याएर मन्दिर स्थापना गरिएको हो। माताको दर्शन गर्दा पाउको दर्शन गर्ने परम्परा छ।”