नागरिक उड्डयन प्राधिकरणमा प्रशासनिक सरुवा विवादमा
काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले गरेको प्रशासनिक सरुवा र जिम्मेवारी बाँडफाँटलाई लिएर विवाद उत्पन्न भएको छ। सिनियर कर्मचारीलाई पन्छाएर जुनियर तहका कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको विषयले प्राधिकरणभित्र असन्तुष्टि बढाएको छ।
नव नियुक्त निमित्त महानिर्देशक कर्णले टेकनाथ सिटौलालाई त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रमुख र विक्रमराज गौतमलाई निर्देशनालयको जिम्मेवारी दिने निर्णय गरेका छन्। तर अनुभवी उपमहानिर्देशक प्रेमनाथ ठाकुर र जगन्नाथ निरौलालाई उपयुक्त भूमिका नदिँदा कर्मचारीहरू असन्तुष्ट छन्।
कर्मचारीहरूका अनुसार, यी निर्णयले सिनियरीटीको बेवास्ता गरेको, अनुभव र योग्यता भन्दा नजिकका व्यक्तिलाई प्राथमिकता दिएको र संस्थागत मनोबल कमजोर बनाएको छ। प्राधिकरणभित्र र बाहिर पनि निमित्त महानिर्देशक कर्णको भूमिकालाई लिएर आलोचना बढ्दै गएको छ।
विशेषज्ञहरूका अनुसार, नागरिक उड्डयन जस्तो संवेदनशील र प्राविधिक संस्थामा अनुभव र योग्यता बेवास्ता गरेर गरिएको सरुवा दीर्घकालीन असर पार्न सक्छ। अब यी निर्णयको पुनरावलोकन हुने कि नहुने विषयले प्राधिकरणको आगामी प्रशासनिक दिशा निर्धारण गर्ने देखिन्छ।