जेनजी आन्दोलनमा आगजनी भएको कांग्रेस कार्यालयको सरकारी टोलीद्वारा अनुगमन
काठमाडौं, ८ पुस । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलेको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले कांग्रेसका प्रतिनिधिहरूसँग क्षतिको अवस्था र समग्र परिस्थितिबारे छलफलसमेत गरेको छ।
अनुगमन टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।
सरकारी टोलीले आजै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलका कार्यालयहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको जनाएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएको थियो।