आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। साथै राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि विद्युत् कटौती हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य भइरहेको र भूमिगत कार्य सम्पन्न भइसकेपछि केवल जडान गर्नुपर्ने भएकाले अस्थायी रूपमा विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले स्पष्ट पारेको छ।
निर्धारित कार्य समयअगावै सम्पन्न भएमा सोभन्दा अघि नै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने पनि सूचनामा उल्लेख गरिएको छ।