एमाले उपाध्यक्ष शाक्य र ज्ञवाली पार्टी जिम्मेवारीबाट बाहिरिने घोषणा
काठमाडौँ – एमालेको ११औँ महाधिवेशनसँगै पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पार्टीको पदीय जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्।
पार्टीको महाधिवेशनको बन्दसत्र अघि बसेको केन्द्रीय समितिको बैठकमा उनीहरूले अब पार्टीको पदीय उम्मेदवारी नदिने र जिम्मेवारीबाट बाहिरिने धारणा राखेका हुन्, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
शाक्य र ज्ञवाली १०औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। हालैको महाधिवेशनमा भएको ध्रुवीकरणको क्रममा उनीहरूले ईश्वर पोखरेलको पक्षमा भूमिका निर्वाह गर्दै आएका थिए।
ज्ञवाली र शाक्य दुवै नेपाली कम्युनिष्ट आन्दोलनमा पाँच दशकभन्दा बढी समयदेखि योगदान गर्दै आएका व्यक्तित्व हुन्।