एमाले उपमहासचिव भट्टराईद्वारा बाह्य चुनौतीको चेतावनी
१२ पुस, काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् र आन्तरिक एकता बलियो बनाउने जरुरी रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भने, “बाह्य चुनौती बढिरहेको छ, जसको सामना गर्नैपर्छ। भागेर लुकेर हुनेवाला छैन। आन्तरिक एकता बलियो बनाऔं, राष्ट्र र जनताका एजेन्डा बोकौं।” उनले विगतका कमजोरीप्रति आत्मालोचित हुन, विनम्र रहन र कार्यशैली सुधार गर्न पनि जोड दिएका छन्।
उनको प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच भएको सातबुँदे सम्झौतापछि आएको हो। कमेन्टकर्ताहरूले भट्टराईको पोस्टलाई उक्त सम्झौतासँग सम्बन्धित राजनीतिक चुनौतीप्रति लक्षित रहेको व्याख्या गरेका छन्।