सहिद परिवारले आन्दोलन गर्ने चेतावनी, मधेस सरकारमाथि बेवास्ताको आरोप
काठमाडौँ ।सहिद परिवारप्रति बेवास्ता गरिएको आरोप लगाउँदै सहिद परिवारका सदस्यहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते मनाउँदै आएको बलिदानी दिवसका लागि यस वर्ष कुनै तयारी नगरेको र सहिद परिवारलाई प्रदान हुँदै आएको राहत प्याकेजसमेत रोकिएको उनीहरूको आरोप छ।
सहिद परिवारको अपमान गर्न खोजिएको भन्दै मधेसी सहिद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलन गरी आगामी शनिबारसम्म माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
उनीहरूले सरकारले सहिद परिवारलाई अपमान गर्नुका साथै मधेसी सहिद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आशंका व्यक्त गरेका छन्। प्रतिष्ठानका सदस्य शुभम् यादवले आफूहरू प्रतिष्ठानमा आबद्ध भएको ७–८ महिना बितिसक्दा पनि तलब नपाएको गुनासो गरे।
उनका अनुसार गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरूलाई वैकल्पिक व्यवस्थापन नगरी कार्यालय खाली गर्न दबाब दिइएको छ।
यादवले मधेसी सहिद प्रतिष्ठानसम्बन्धी ऐन बनेको महिनौँ बितिसक्दा पनि मन्त्रिपरिषद्बाट स्वीकृति लिएर प्रदेश सभामा लैजाने कुनै पहल सरकारले नगरेको आरोप लगाए। सहिद परिवारको सम्मान र अधिकार सुनिश्चित गर्न सरकार गम्भीर नदेखिएको भन्दै उनीहरूले तत्काल ध्यानाकर्षण गराएका छन्।