फरार कैदी आकाश मगर पक्राउ, ठमेल हत्या प्रकरणको खुलासा
९ पुस, काठमाडौं ।ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी आकाश मगर पक्राउ परेका छन्।
नेपाल प्रहरीले फरार कैदी मगरलाई रोल्पाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो।
घटना गत १३ असोजमा ठमेल क्षेत्रमा भएको थियो। मकवानपुर स्थायी घर भई मनमैजु बस्दै आएका २५ वर्षीय तामाङको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। गम्भीर घाइते अवस्थामा वीर अस्पताल लगिएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने देखिएको छ। घटनापछि मगर फरार रहेका थिए।
लुटपाट तथा डकैती मुद्दामा कारागार चलान भएका मगर २४ भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए।
घटनास्थल वरपरका सीसीटीभी फुटेज, प्राविधिक तथा म्यानुअल अनुसन्धानका आधारमा हत्या प्रकरणमा मगरको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।