संसद् पुनर्स्थापनाको रिटमा गगन थापा पक्षको हस्ताक्षर छैन
९ पुस, काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर नगरेका छन्।
संसद् पुनर्स्थापनाको मागमा बहुमत सांसदको हस्ताक्षर जुटाउने प्रयासस्वरूप कांग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो। तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश पूर्वसांसदले हस्ताक्षर गरे पनि देउवा र उनकी पत्नी आरजु राणाले भने हस्ताक्षर गरेनन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायत थापा पक्षका पूर्वसांसदहरूले पनि हस्ताक्षर नगरेका छन्। नेता केसीले संसद् पुनर्स्थापना समाधान नभएको र चुनावमै जानुपर्ने धारणा राखे।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र नेता डा. शेखर कोइरालाले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन्। कोइराला पक्षका केही पूर्वसांसदले भने हस्ताक्षर गरेका छन्।